clxn] k|;f/0fdf M
tfhf ;dfrf/M
समाचार तथा गतिविधि
यो वर्षको पहिलो पटक डोल्पामा भारि हिमपात
रेडियो डोल्पा
   डोल्पा(दुनै), १२ माघ – नदिको बगरैसम्म हिउ जम्ने गरी यो वर्षको पहिलो चोटी डोल्पामा हिमपात भएको छ । हिमपातले जनजीवन र यातायात प्रभावित भएको छ । 
   तीनदिनदेखिको लगातार वर्षाका कारण डोल्पाकै सबैभन्दा होचो स्थान मानिने मुड्केचुलाको कालिका बगरको नदि किनारसम्म हिउंजम्ने गरी हिमपात भएको कालिकाका स्थानीय लंकबहादुर रोकायाले बताए । उनका अनुसार सर्मी, नर्कु, कालिका, काइगाउं र रिमीमा यो वर्ष निकै हिमपात राम्रो भएको छ । 
   बाक्लै हिउं जम्ने गरी हिमपात भएपछि तल्लो डोल्पाका धेरै गाउंहरुमा स्थानीयहरुको जनजीवन प्रभावित भएको छ । डोल्पाका प्रायः सबै स्थानीय तहका गाउंहरुमा यो पटक परेको हिउं बाक्लो गरी जमेको छ । 
   हिमपातका कारण शनिवार जुफाल विमानस्थलमा हवाई उडान अवरुद्ध भएको छ । हिमपातले हवाई यातायात मात्र होइन स्थानीय रुपमा चलेको दुनै जुफाल जीप सेवा पनि उकालो बाटोमा बाक्लो हिउं जमेका कारण शनिवार अवरुद्ध भएको छ । यातायात अवरुद्ध भए पछि यात्रुहरुले निकै शास्ति खेप्नु परेको स्थानीय प्रशासनले जनाएको छ । 
   हिमपात भए पछि यातायात मात्र होइन एक गाउंबाट अर्को गाउं जान आउन समेत बन्द भएको स्थानीय नरबहादुर बुढाले बताए । उनका अनुसार हिउ जमे पछि हिड्दा पहिरो आउने, ढुङ्गा आउने भएकाले एक गाउंबाट अर्को गाउंमा जान आउन नसकिएको हो । 
   हिमपात हुंदा पशुबस्तुहरुलाई चराउन लिन समेत नसकिएको सुकमाया थापाले बताइन् । उनका अनुसार हिमपात भए पछि चिसो हुने मात्र होइन वाहिर सबैतिर सेताम्मे भएर हिउंले ढाकेकाले पशुबस्तुहरुलाई गोठभित्रै वर्षा काटेर सुकाएर राखेको घांस खान दिएर गोठमै हुलेर राखिएको छ । 
   हिमपातले स्थानीयहरुको जनजीवन कष्टकर भए पनि उनीहरुमा एक प्रकारको खुसि छाएको छ । अधिकांश स्थानीयहरु कृषि पेशामा निर्भर रहेकाले हिमपात हुंदा आगामी अन्न बाली सप्रने आशाले उनीहरुमा खुसि छाएको हो । अन्न बालीका साथ साथै यार्चाकुन्भुबाट निकै आर्थिक आम्दानी गर्ने डोल्पालीहरुमा यार्चा सप्रने आशाले पनि खुसि भएको ठुलीभेरी १ का तेजबहादुर रोकायाले बताए । 
   अन्नबाली, यार्चाकुन्भु र अन्य खेतिपाती सप्रने मात्र होइन हिमपातले वातावरणमा हुने धुलोधुवां समेत कम हुने भएकाले रोगव्याधि हटेर समुदायमा आनन्द छाउने काइके गाउंपालिका राजु रोकाया बताउछन् । उनका अनुसार हिमपातले निकै चिसो हुन्छ, आउन जान, काम गर्न निकै कठिनाई हुन्छ तर किन हो किन समुदायमा एक प्रकारको खुसि छाउछ, आनन्दको वातावरण बन्छ । 
   यतिवेला माथिल्लो डोल्पाका विभिन्न गाउंहरुमा ३ फिट भन्दा बढि हिउ जमेको शे फोक्सुण्डो गाउंपालिका पुग्मका आङबहादुर लामाले बताए । उनका अनुसार पशुबस्तुहरु पुरै गोठमा बन्दि बनेका छन् । भारी हिमपातले एक गाउंबाट अर्को गाउं आउजाउ गर्न केही दिनका लागि अवरोध भएको छ । बसुदा, मरिम्ला, शे लेक लगायतका विभिन्न उच्च पासहरुमा भारि हिमपातले अबको १ महिनासम्म बाटो नखुल्ने अवस्था आएकाले माथिल्लो डोल्पाका विभिन्न गाउंहरु जिल्ला, प्रदेश र संघसंग मात्र होइन गाउंगाउं एकापसमा समेत सम्बन्ध बिच्छेद बनेका छन् । 
   मध्य तथा तल्लो डोल्पाका रिमी, काइगाउं, होर्त, ओक्ट, सर्मी, शहरतारा, लावन, पाहाडा, ताली, दुरगाउं लगायत प्रायः सबै गाउंमा भारि हिमपातले जनजीवन प्रभावित बनाएको छ । पशुबस्तुहरु गोठमै थन्किएका छन् । मानिसहरुलाई पानी ल्याउन पानी धारा रहेको खोलासम्म जानआउन समेत कठिन बनेको स्थानीयहरुले बताएका छन् । हुलाक ठप्प भएको छ । निकट भविश्यमा हुने एसइइका लागि संचालन भएका कोचिङ कक्षाहरु अवरुद्ध भएका छन् । 
 
 
 
 
 
tkfO{sf] dt

Loading...

cfh k|;f/0f x'g] sfo{s|dx?